आमा
–सुजन चालिसे
आमा, तिमी साहै्र महान,
म सम्झन्छु,
म सम्झन्छु, त्यो कालो बादल मडारिँद,ै चमक्क बिजुली चम्किएपछि गुडुङ्ङ आउने आवाज जस्तै, ए अलछिनी, अजै भाँडा माजेर सकिनस् ? भन्ने मेरो बाबुको थर्काइ
आमा, तिमी साहै्र महान,
म सम्झन्छु, अनुहार भरी गुन्द्रुक जस्तै मुजा परिसकेकी मेरी हजुरआमाले, सुनको पहेँलो दाँत टलक्क टल्काउँदै मेरी दिदीको कलीला गालामा प्याट्ट पिटेकोः सत्यानासिनी, भन्दै
आमा, तिमी साहै्र महान,
म सम्झन्छु, उ त्यो पल्लाघरे अन्टिले रामेको आमासँग, हेर न कस्तो गरीबकी छोरी रेछे, १ मुठो पैसा पनी खर्चेन रे बाउचाहिँले यस्को बिहेमा भन्दै गरेको मजाक,
आमा, तिमी साँच्चिकै महान,
म सम्झन्छु, तिमीले सम्झँदै गर्दा सम्झेको तिम्रो त्यो बालपन जहाँ, न त तिम्रो शरीर भरी, चुरोट ले डामेको डाम हुन्थ्यो, न त बिहानै उठेर जिङ्ग्रिङ्ङ कपाल फिजाँउदै बाहिर निस्कँदा, तिम्रो जीवनको मिर्मिरेमा, घाम ओइलाइसकेको हुन्थ्यो ।
जहाँ, न त समाजरुपी तीखो शाब्दिक वाणले तिमीलाइ घोच्दथ्यो, न त आगो जस्तै दन्दनी बलीरहेका वेदनाले तिम्रो मन पोल्दथ्यो ।।
अज्ञानता र आर्थिक अभावको प्रभावले, जवाफबिहिन बनेका तिम्रा बाबा आमा, या भनौँ मेरा हजुरबा हजुरआमाले, धने साहुसँग त्यो पारीको पाखो बारी बन्धकी राखेर दाइजोमा दिएको त्यो भटभटे, आज पुरानो भएछ,
आमा,
बादल खुलेपछि घामको ज्योतीले टलक्क टल्किन,े हिमालका जस्तै ती सेता दन्त्यलहर खोल्दै तिमीले हाँस्ने, मीठो हाँसो आज पुरानो भएछ ।।
मन भक्कानिएर आउँछ,
आमा, मेरो मन भक्कानिएर आउँछ, जब म सम्झन्छु नौ महिना गर्व मा अनि, जीवनको अन्तिम खुड्किलोसम्म छातीमा मलाई बोकेर हिँडेकी तिमीलाई, मेरै राक्षसरुपी आफन्तजन भनौदाहरुले कुकुरले सीनो लुछेझैँ लुछेको,
अनि, हात्तीका जत्रा पाखुराधारी कुतत्वलाई के छुन सक्ला र ? भन्दै मकैका ढोड जस्तै कलिला मेरा भुजाहरु बगलीभित्र लुकेको र स्वाभिमानी भनि टोपलिएको, मेरो शिर झुकेको ।।
तर आज,
आमा, तर आज तिम्री बुहारीले तिमीले तपक्क आँशु झार्दै फरीयाको सप्कोले सपक्क पुछेको जस्तो गरी पुछ्नु पर्दैन,
किनकी शिक्षारुपी दियालोले आज विनाशकारी कुरिती र कुचलनको अँध्यारोलाई चरक्क चिर्दै सुँइकुच्चा ठोकाइसकेको छ ।।
आमा, अब तिमी मन्द मन्द मुस्काउ,
अब तिमी मन्द मन्द मुस्काउ, किनकी तल्लो लोकको अँध्यारो चलनमा चस्मा लाएर पनि हेर्न नसकेपछि माथिको चम्किलो संसार हेर्ने रहर पुरा गर्न तिमीलाई साथ दिने त्यो डोरी, अब कसैलाइ आवश्यक पर्ने छैन,
अब तिमी मन्द मन्द मुस्काउ, किनकी तिम्री बुहारी र नातिनीहरुले अब, दाइजो नल्याएकै निहँुमा अलछिनी र सत्यानासी को उपनाम, ग्रहण गर्नुपर्ने छैन ।।
आमा, तिमी साहै्र महान ।।

